आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

चैत महिनाभित्रै मेलम्चीको पानी काठमाडौंमा आउने मन्त्री चौधरीको दावी

गोकर्णेश्वर खबर९ चैत्र २०७८, बुधबार ०९:३८ मा प्रकाशित (२ साल अघि) ४६० पाठक संख्या

९ चैत, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी काम भईरहेको बताएका छन् । विश्व पानी दिवसका अवसरमा मंगलबार खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले सुन्दरीजल मेलम्चि आयोजनाको कार्यालयमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले सो बताएका हुन् ।

मन्त्री चौधरीले मेलम्चीको पानी मात्र उपत्यकाका लागि पर्याप्त नरहेको भन्दै याङ्री र लार्के खोलाको पानी पनि काठमाडौं ल्याउन आवश्यक रहेकोमा जोड दिए । उनले त्यसका लागि सहमति भइसकेको पनि बताए ।

यसैगरी गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले सुन्दरीजल र गोकर्णेश्वर नगरपालिकाबाट उपत्यकामा पानी जाने गरे पनि यहींका बासिन्दाले त्यसको उपयोग गर्न नपाएकोमा गुनासो गर्दै नगरवासीले पानी खान पाउने व्यवस्था गर्न मन्त्रालय लगायत सरोकारवाला अधिकारीहरुलाई ध्यानाकर्षण गरे ।

उनले मूलमुनि रहेका वासीन्दाका लागि खानेपानी नभएकाले पानीको व्यवस्था गर्न मन्त्रालयसँग माग गरे । मेलम्चीको पानी पनि सुन्दरीजलमै प्रशोधन भएर उपत्यकामा वितरण हुन जाने भए पनि सुन्दरीजलवासी पानी हेरेरमात्र बस्ने गरी बनाइएको नीति गलत रहेको चालिसेको भनाई थियो ।

कार्यक्रममा बिपी सङ्ग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, सोफेनका अध्यक्ष अनिलभद्र खनाललगायतले भूमिगत पानीको सही रुपमा उपयोग एवं व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर वडा नं. १ का वडा अध्यक्ष राम मानन्धर, कलाकार तथा पानीदूत सीताराम कट्टेल धुर्मुस लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा खानेपानीको महत्वको विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भनें कलाकार लोकेन्द्र लेखकको टोलीले रुन्चे धारो लघुनाटक प्रस्तुत गरेका थिए । यसैगरी, हास्य कलाकार श्रीकृष्ण सिंखडाले कविता वाचन गरेका थिए ।