आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

आज सरस्वती पूजा, हनुमान ढोकामा वशन्तश्रवण

गोकर्णेश्वर खबर२३ माघ २०७८, आईतवार ०८:११ मा प्रकाशित (२ साल अघि) ४०० पाठक संख्या

२३ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज भईरहेको छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ ।

विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् ।

यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ । यसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ ।

यस अवसरमा हनुमान ढोकास्थित नासल चोकमा वसन्त श्रवण गरिँदै छ ।

वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको छ । यो पाठ १५ श्लोकको रहेको छ ।

आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ ।