आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

प्रदेश २ को राजधानी र नामाकरणका लागि विशेष समिति गठन

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार २०:३० मा प्रकाशित (२ साल अघि) १०५ पाठक संख्या

१३ पुष, काठमाडौं । प्रदेश २ को प्रदेश सभाको आठौँ अधिवेशनको पाँचौं बैठकले सभामुख सरोजकुमार यादवको संयोजकत्वमा राजधानी र नामकरणसम्बन्धी अध्ययन विशेष समिति गठन गरेको छ । यस विशेष समितिको सहसंयोजकमा उपसभामुख उपमाकुमारी देवलाई राखिएको छ ।

समितिका सदस्यहरुमा प्रदेशसभा सदस्यहरु उपेन्द्रकुमार कुशवाहा, किशोर साह (कमल), जगतप्रसाद यादव, दिलिपकुमार साह, परमेश्वर साह, बिदेश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदा थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, साबित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुनिताकुमारी साह रहेका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख यादवले प्रदेश सभा कार्य सञ्चालन (पहिलो संशोधन) नियमावली, २०७५ को नियम ७३ (क) को उपनियम (९) तथा नियम ७३ (ख) को उपनियम (९) बमोजिम प्रदेशको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि अध्ययन गरी प्रदेश सभामा प्रतिवेदन पेश गर्न राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति, २०७८ गठन गर्न नामावलीसहितको प्रस्ताव पेश गरेका थिए ।
समितिलाई प्रदेशको राजधानी र नामकरण सम्बन्धमा दर्ता भएको प्रस्तावहरुबारे विभिन्न पक्ष, विज्ञसँग छलफल, अन्तरक्रिया गरी सुझावसहित १५ दिनभित्र प्रदेश सभामा प्रतिवेदन बुझाउन जिम्मेवारी तोकेको छ ।

सोही बैठकमा प्रदेशसभा सञ्चालन कार्य विधिअनुसार संसदीय दलको सिफारिसमा प्रदेशसभा सदस्य प्रमिलादेवी यादवलाई महिला, बालबालिका तथा सामाजिक न्याय समितिबाट विकास समितिमा तथा पश्मिना काजरीलाई अर्थ तथा योजना समितिमा हेरफेर गरिएको सभामुख यादवले जानकारी दिए ।

यता जनता समाजवादी पार्टी नेपाल (राजपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ भने नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेको छ । नेपाली काँग्रेसले मिथिला–भोजपुरा नामाकरण प्रस्ताव गरेको छ । प्रदेशसभाको बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको सभामुख यादवले जानकारी दिए ।