आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच ‘आलोपालो’

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार २१:२६ मा प्रकाशित (२ साल अघि) ५७१ पाठक संख्या

१२ पुष, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिलेर अघि बढ्ने सङ्केत देखाएका छन् । पुस १० गते बसेको केन्द्रीय समिति बैठकअघि थापा र शर्माबीच मिलेर अगाडि बढ्ने सहमति भएको हो ।

दुई महामन्त्रीमा थापाको वरियता अगाडि भए पनि केन्द्रीय समिति बैठकमा आलोपालो प्रस्ताव राख्ने सहमति भएको छ । विधानले महामन्त्रीलाई दिएका काम, कर्तव्य र अधिकारमा आलोपालो गरेर अघि बढ्न थापा र शर्मा राजी भएका छन् ।

नेपाली काँग्रेसको विधानले महामन्त्रीलाई १२ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । त्यसमा मूलतः केन्द्रीय कार्यसमितिमा प्रस्ताव आलोपालो प्रस्तुत गर्ने दुई नेताबीच सहमति भएको हो । महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने कुरामा पनि सोही सहमति लागु हुने नेताहरुले बताएका छन् ।