आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

सबैको विश्वासको गुन चुनावमा पार्टीलाई जिताएर चुकाउने छु : युवा नेता गणेश लामा

गोकर्णेश्वर खबर८ पुष २०७८, बिहीबार २१:०३ मा प्रकाशित (२ साल अघि) ९३ पाठक संख्या

पुष ८, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित युवा नेता गणेश लामाले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा प्रतिश्पर्धाबाट निर्वाचित भए पछि जिम्बेवारी बढेको महशुष भएको बताएका छन् ।

उनले आफूले युवाहरुको भावनालाई सम्मान गर्दै र राजनीतिमा युवाहरुलाई समेट्दै कांग्रेसलाई बलियो बनाउन निरन्तर क्रियाशिल भईरहने बताए । उनले अगाडी भनें– ‘नेपालमा युवा वेरोजगारीको समस्या विकराल छ । युवा स्वरोजगारीता अभिवृद्धिका लागि निरन्तर आवाज उठाउने छु ।’

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि प्रतिश्पर्धा गरेका ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । उनले ३५ जनामा ३० औं स्थानमा आफूलाई विजयी बनाउन सफल भए । लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि फोरम लोकतान्त्रिक पार्टी समायोजन भई काँग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका हुन् ।

लामाले देशभरका शुभचिन्तक, साथीभाइ, महाधिवेशन प्रतिनिधिहरुको सहयोग र विश्वासले निर्वाचित भएकोमा कृतज्ञता व्यक्त गर्दै पार्टीलाई तीनै तहको चुनावमा बलियो बनाउन दिनरात नभनी खटिने प्रतिबद्धता व्यक्त गरे । उनले सबैको विश्वासको गुन चुनावमा पार्टीलाई जिताएर चुकाउने पनि बताए ।

लामाले आम नेता कार्यकर्ताको मन जितेर पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए पछि आफ्नो सामाजिक राजनीतिक भूमिका र संघर्षलाई अपमानित गर्दै ‘गुण्डा नाइके’ र ‘डन’ जस्ता शब्द जोडेर समाचारहरु आईरहेको प्रति खेद व्यक्त गरेका छन् ।

उनले आफू माथी केही मिडियाले निराधार आरोप लगाएको बताउँदै आफूले कमजोर वर्गका मानिसहरुलाई समाज सेवा मार्फत र देश र जनताको लागी राजनीति मार्फत सेवा गरिरहने बताए । उनले बहत्तर सालको भूकम्प तथा आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारका साथै कोरोनाको महामारीमा लकडाउनको त्रासका बिच जनतालाई सेवा गरेको स्मरण गर्दै आम जनताको खुसी र भलाईका लागि सहयोग गर्न आफू सँधै तत्पर रहेको समेत बताए ।