आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न,अध्यक्ष र पदाधिकारीबिनै २७१ सदस्यीय कमिटी गठन

गोकर्णेश्वर खबर५ पुष २०७८, सोमबार ०८:३७ मा प्रकाशित (२ साल अघि) २८४ पाठक संख्या

धनुषा । विवादका बीच नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न भएको छ । डेढ साताअघि जनकपुरधाममा उद्घाटनसत्र भएकोमा सर्लाहीको लालबन्दीमा शनिबारदेखि चलेको बन्दसत्रबाट अध्यक्ष र पदाधिकारीबिनै २७१ सदस्यीय प्रदेश कमिटी गठन गर्ने निर्णय भएको हो । जसअनुसार अब पुस २० मा घोषणा सभा कमिटीको सार्वजनिक गरिनेछ ।

उद्घाटनसत्रपछि नेतृत्व चयन गर्ने विषयमा विवाद हुँदै आएको थियो । जसका कारण बन्दसत्र नै प्रभावित हुँदै आएकोमा बल्ल शनिबारदेखि सुरु भएको थियो ।

आकांक्षीहरु धेरै भएका कारण माओवादी प्रदेश अधिवेशनको बन्दसत्रबाट सर्वसम्मतरुपमा अध्यक्ष चयन गर्न नसकिएको प्रदेश सांसद समेत रहेका जगतप्रसाद यादवले जानकारी दिए । पुस ११ गते हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि प्रदेश २ को विवाद समाधान हुने सम्भावना नदेखिएपछि प्रदेश २ का ८ वटै जिल्लालाई २२ देखि १७ जना प्रतिनिधिको नाम सिफारिस गर्न भनिएको छ । जिल्लाले सर्वसम्मतरुपमा सिफारिस गरिएका नेताहरुको नामावली अनुसार नै पुस २० मा घोषणा सभा आयोजना गरी प्रदेश २ मा २७१ सदस्यीय पदाधिकारीसहित कार्यसमिति घोषणा गरिने उनले बताए ।

प्रदेश २ को अध्यक्ष पदका लागि रामकुमार शर्मा, श्रवण यादव, अशोक साह, अजय शंकर नायक र दिलिप साहलगायतका दावेदार छन् । अध्यक्षमा यसमध्ये एकजनामा सहमति बनाउन प्रयास भएको थियो ।
२० गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा सभाबाट सो कार्यसमिति घोषणा गर्नेछन् । नेता मातृकाप्रसाद यादव र नारायणकाजी श्रेष्ठ गरी दुई समूह आ–आफ्नै अडानमा रहेपछि नेतृत्वको निर्क्यौल निस्कन नसकेको हो ।