आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

धनुषाका कांग्रेस नेता राम पल्टन साहले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

गोकर्णेश्वर खबर२१ मंसिर २०७८, मंगलवार २०:४२ मा प्रकाशित (२ साल अघि) २९१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धनुषाका कांग्रेसका नेता राम पल्टन साहले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय सदस्य तथा प्रदेश नं. २ का संयोजक समेत रहेका साहले केन्द्रीय सदस्यमा मधेशी आरक्षण तर्फबाट उम्मेदवारी दिने भएका छन् ।

२०३६ सालमा विद्यार्थी जीवनबाटै राजनीतिमा शुरु गरेका साह २०४४ सालमा नेविसंघ धनुषा जिल्ला सदस्य भएका थिए । २०४६ सालको जन आन्दोलनमा गठित संघर्ष समितिमा धनुषा जिल्ला सदस्यको जिम्वेवारी निर्वाह गरेका साह २०६२–०६३ को जनआन्दोलनको काठमाडौं गौशालामा तयारी समिति संयोजक समेत रहेका थिए ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको तेश्रो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य समेत रहेका साह नेपाली कांग्रेसको बाहैं अधिवेशनमा धनुषा क्षेत्र नं. ५ बाट महासमिति सदस्य भएका थिए । उनले २०६९ सालमा कांग्रेसको तराई मधेश केन्द्रीय विभाग सदस्यको रुपमा समेत पार्टीको जिम्वेवारी निर्वाह गरिसकेका छन् ।

नेपाली कांग्रेसले आव्हान गरेका सबै राजनीतिक संघर्षको कार्यक्रममा अग्रपंक्तिमा रही कार्य गरेकोले पार्टी संगठनलाई बलियो र समावेशी बनाउन आफूले उम्मेदवारी दिने साहले बताए ।

उनले कांग्रेस समाजवादी लक्ष्यसम्म पुग्न समावेशी नेतृत्व हुनु पर्नेमा जोड दिंदैं “समाजवादी रुपान्तरणका लागि समावेशी लोकतन्त्र”को नारा बोकेर आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने गोकर्णेश्वर खबरलाई बताए ।