आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

आज गाईजात्र पर्व : दिवंगत भएका आफन्तको सम्झना गरिदै

गोकर्णेश्वर खबर७ भाद्र २०७८, सोमबार ११:३९ मा प्रकाशित (२ साल अघि) ४१४ पाठक संख्या

काठमाडौं । भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ। विशेषगरी काठमाडौं उपत्कामा यो पर्व हर्षोत्सासपूर्वक मनाइन्छ।

गाईजात्राका अवसरमा सरकारले आज काठमाडौं उपत्यकासँगै देशभरका नेवार समुदायलाई बिदा दिएको छ। विषेश गरेर काठमाडौं, भक्तपुर, पाटनसहित विषेश गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाइजात्रा पर्व मनाइन्छ।

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्राको आज मुख्य दिन हो।
गाईजात्रामा वितेको एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना गरिन्छ। उनीहरुको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगरमा परिक्रमा गराउने परंपरा छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउनु’ भन्ने आदेश दिएका आधारमा यो पर्व सुरु भएको मानिन्छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउन प्रतापमल्लले आदेश दिएका इतिहासविद्को भनाई छ। सोही आधारमा गाईजात्रामा हास्यव्यङ्ग्यको चलन चलेको मान्यता छ।

यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले भिडभाड नगरी जात्रा र पर्वहरु मनाउन सरकारले नागरिकलाई आग्रह गरेको छ।

काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका ठाउँमा विशेष धुमधामसहित गाईजात्रा पर्व मनाइन्छ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति विसंगतिविरुद्ध कलाकारले व्यंग्यात्मक कार्यक्रम गर्ने क्रम बढ्दै गएको छ।