आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

बालाजुको बिस्कुट उद्योगमा रातीदेखि लागेको आगो अझै आएन नियन्त्रणमा

गोकर्णेश्वर खबर२३ श्रावण २०७८, शनिबार ०९:३९ मा प्रकाशित (२ साल अघि) २४५ पाठक संख्या

काठमाडौं । काठमाडौंको बालाजुस्थित नेबिको बिस्कुट उद्योगमा शनिबार राति २ बजेदेखि भइरहेको आगलागी अझै नियन्त्रण हुन सकेको छैन।

बालाजु प्रहरीका अनुसार यो खबर लेख्दासम्म (शनिबार बिहान ८ः२३) आगो पूर्ण रूपमा निभाउन सकिएको छैन। प्रयास जारी छ।

काठमाडौं महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रस्थित नेबिको बिस्कुट कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भइरहेको हो।

बालाजुस्थित प्रहरी वृत्तका एक प्रहरीले भने, ‘७ वटा दमकल आयो, अहिलेसम्म ३६ वटा पानीट्यांकर आयो, तर अझै आगो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन।’

सिम्रिक एयरको हेलिकोप्टरले पनि पानी हालेको तर त्यो प्रभावकारी नदेखिएको उनले बताए।

‘घरभित्र लागेको आगो हो, हेलिकोप्टरले बाहिरबाट पानी छ्यापेर के गर्नु, बाहिरको आगो, जंगलको डढेलो भएचाहिँ हेलिकोप्टरबाट हालिने पानी प्रभावकारी हुने थियो,’ ती प्रहरीले भने।

आगलागीबाट मानिसलाई केही नभएको तर बिस्कुट तथा यसका कच्चा पदार्थ जलेर नष्ट भएको उनले बताए। के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण पनि अहिलेसम्म थाहा छैन।