आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य

गोकर्णेश्वर खबर११ जेष्ठ २०७८, मंगलवार ०६:२५ मा प्रकाशित (२ साल अघि) ५५३ पाठक संख्या

काठमाडौं । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको हो ।

मुख्य सचिव वैरागीकै निर्देशनअनुसार कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै कोभिड रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति अख्तियार गरी नीतिगत सुधारमा समेत जोड दिँदै आएको प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

सोहीअनुसार परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेको छ । यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत समन्वय भइरहेको छ । यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउनसमेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार १ सय थपसहित हालसम्म देशभर ३ हजार २ सय क्वारेन्टिन बेडको व्यवस्था गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट तीनवटा कार्गो विमानद्वारा केही दिनभित्रै स्वास्थ्य सामग्री ५ लाख ¥यापिड डाइग्नोस्टिक टेस्ट, ५ लाख सर्जिकल मास्क, ९ लाख ६२ हजार केएन ९५ मास्क, ५० हजार फेस सिल्ड, २६ सय बढी ब्याग, १४ लाख गाउन, ५० हजार गगल्स नेपाल आउने भएको छ ।

यस्तै, अर्थ मन्त्रालयका अनुसार ४१ लाख ९० हजार बढी थान विभिन्न मेडिकल उपकरण, ५ हजार ६७ एम टिक्यू अक्सिजन, ३ हजार भाइल्स रेम्डिसिभिर, १० हजार केजी बढी सेनिटाइजर, ७ सय ४० केजी टेस्ट किटसहितको औषधि पैठारी भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार क्वारेन्टिनको गुणस्तर सुनिश्चितताका लागि ८२ वा क्वारेन्टिनस्थलको अनुगमन गरिएको छ । यसरी अनुगमन गर्ने कार्य जारी राख्दै आइएको छ । देशभर हाल ८० वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन् भने विगत २४ घण्टामा २ सय ३३ अक्सिजन सिलिन्डर संकलन गरिएको छ भने ३ सय २६ अक्सिजन सिलिन्डर वितरण गरिएको जनाइएको छ ।

यसैगरी, १६ हजार २ सय ७८ वटा सिलिन्डर अक्सिजन भरेर विभिन्न अस्पतालमा पठाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार उद्योग मन्त्रालयको समन्वयमा खाद्यन्नलगायत आवश्यक वस्तुको ढुवानीको सहजीकरण भइरहेको छ भने आपूर्तिमा कुनै प्रकारको समस्या नरहेको जनाइएको छ ।

-राजधानी  दैनिक