आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कांग्रेस विवादः देउवासमक्ष पौडेलको असहमति पत्र

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार ०८:१८ मा प्रकाशित (३ साल अघि) २३० पाठक संख्या

काठमाडौं । पार्टीमा छलफलै नगरी एकलौटी ढंगले केन्द्रीय विभाग र निकायमा मनोनयन गरेको भन्दै कांग्रेसभित्रको असन्तुष्ट समूहले सभापतिसमक्ष असहमति पत्र बुझाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले  बिहीबार सभापति शेरबहादुर देउवालाई विभाग गठनमा मनोमानी भएको, महाधिवेशन मुखमा सदस्य थप गरिएको र अनुशासनका नाममा नेतामाथि जथाभावी कारबाही गरिएको भन्दै असहमति पत्र बुझाएको हो ।

सभापतिलाई पटकपटक सचेत गराउँदासमेत बेवास्ता गर्दै अघि बढेपछि पत्र बुझाइएको वरिष्ठ नेता पौडेलले जानकारी दिए । पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै आक्रोशसमेत पोखे ।

पौडेल समूहले महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा आफूअनुकुल हुनेगरी विभिन्न विभागमा सदस्य थप गर्नु गलत भएको भन्दै आपत्ति जनाउँदै आएको थियो ।

‘पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका साथीहरूलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउने वा उहाँहरूको मनोबल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबोध गर्नेखाले अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन,’ सभापति देउवालाई बुझाइएको पत्रमा उल्लेख छ ।

ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको पौडेल पक्षधर नेता बैठकले सभापतिलाई लिखित असहमति पत्र बुझाउने निर्णय गरेको हो ।

असहमति पत्र बुझाउन वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत गएका थिए । (राजधानी दैनिक)