आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

उपत्यकामा बिहीबार साँझसम्म थपिए ७० संक्रमित, अधिकांश हजाम, व्यापारी, मजदुर र सवारी चालक

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार ०६:४८ मा प्रकाशित (३ साल अघि) ९०० पाठक संख्या

काठमाडौं- लकडाउन अन्त्य भएसँगै देशका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रने मानिसको संख्या बढेसँगै कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ। साँझ ७ बजेसम्म उपत्यकाका तीन जिल्लामा बिहीबार मात्रै काठमाडौं, भक्तपुर र ललितपुरमा ७० जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये ६५ जना व्यक्ति राजधानीबाहिरका जिल्लाबाट काठमाडौं आएका हुन्। त्यसमध्ये अधिकांश संक्रमित रौतहट, बारा र पर्साबाट आएका हुन्। बिहीबार भेटिएका संक्रमितमध्ये भारतबाट आएका व्यक्तिको संख्या समेत उल्लेख्य छ। उनका अनुसार अधिकांश संक्रमितमा कोरोनाको लक्षण समेत देखिएको छ।

‘अन्य प्रभावित जिल्लाबाट आउने व्यक्तिमा पनि संक्रमण देखिएको छ। तर अधिकांश रौतहट, बारा र पर्साका साथै भारतबाट आएका व्यक्तिहरु हुन्। हजाम, व्यापारी, मजदूर र सवारी चालकलगायतका काम गर्ने उनीहरु लकडाउन खुलेपछि काठमाडौं आएका छन्,’ महाशाखाका एक कर्मचारीले भने, ‘अब नाकामा सुरक्षाकर्मीहरूले पनि निगरानी बढाइदिनुपर्छ। यसैगरी राजधानी प्रवेश गर्ने व्यक्ति बढे भने भयावह स्थिति हुन सक्छ।’

तीन नाकामा स्वाब संकलन
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार मन्त्रालयले काठमाडौं प्रवेश गर्ने तीन नाकामा स्वाब संकलन गरिरहेको छ। मन्त्रालयले काठमाडौं प्रवेश गर्ने १० हजार जनाको स्वाब संकलन गर्ने योजना बनाएको छ। सो अनुसार बिहीबार दिउँसो ४ बजेसम्म उपत्यका छिर्ने तीन नाका नागढुंगा, साँगा र फर्पिङ हुँदै आएका २४ जनामा कोरोना संक्रमण देखिएको छ। ती नाकाबाट प्रवेश गर्ने अन्य नमूनाको परीक्षण भइरहेकोले रिर्पोट आउने क्रम जारी रहेको सहप्रवक्ता डा अधिकारीले बताए।

आइतबार नागढुंगा नाकामा लिइएको ४ हजार ७१० जनाको नमुनामध्ये २ हजार ३०२ जनाको रिपोर्ट आएको छ। जसमा ३ जनामा संक्रमण देखिएको छ।  फर्पिङ नाकामा २ हजार २८२ नमुनामध्ये ७४१ नमुना परीक्षण गरिएकोमा १० जनामा संक्रमण देखिएको छ। त्यसैगरि, साँगा नाकामा संकलन भएका २ हजार ४०१ नमूनामध्ये ४३० जनाको रिपोर्ट आएको छ। यीमध्ये ११ जनामा कोरोना संक्रमण देखिएको छ।