आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौं उपत्यकाका यी ८ अस्पताल, जहाँ ७२ संक्रमित उपचाररत छन् (सूचीसहित)

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १५:४९ मा प्रकाशित (३ साल अघि) ४५८ पाठक संख्या

काठमाडौं । महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव विश्वभर परेको छ । कोराना भाइरसको उत्पत्ति भएको समयदेखि नै यसको प्रभावमा निरन्तर वृद्धि भइरहेको छ ।

केही देशहरुले आफुलाई कोरोना मुक्त देशको रुपमा घोषणा गरेका छन् । कतिपय देशले कोरोना नियन्त्रण गर्न लगाएको लकडाउन पनि खोली सकेका छन् । तर कोरोनाको प्रभाव भने कम हुन सकेको छैन ।

सरकारले १ सय २० दिनसम्म लकडाउन गरेर अहिले लकडाउन खुल्ला गरेको छ । सरकारले अहिलेसम्म कुल ३ लाख ४२ हजार ४ सय ५७ वटा नमुनाको पिसिआर परीक्षण गरेको छ ।

देशभर अहिलेसम्म १८ हजार ६ सय १३ जना संक्रमित भेटिएका छन् । जसमध्ये १३ हजार १ सय २८ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । अहिलेसम्म ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सरकारले कोरोना भाइरसको उपचारको लागि देशभर निश्चित अस्पताल तोकेको छ । देश भरका २८ वटा प्रयोगशालाबाट कारोनाको नमुना परिक्षण गरिरहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा अस्पताल रहेका छन् ।

टेकु अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पताल, टिचिङ अस्पताल दुवाकोट, एपिफ अस्पताल बलम्बु, ह्याम्स अस्पताल, धुलिखेल अस्पताल र किर्तिपुर आयुर्वेदिक अस्पताल रहेका छन् । यी अस्पतालहरुमा सरकारले कोरोना संक्रमित व्यक्तिहरुलाई विशेष वार्ड व्यवस्थापन गरी उपचार गरिहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा अहिले ७२ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६३ जना आइसोलेसन र ८ जना आइसियुमा तथा एक जना भेन्टिलेटरमा रहेका छन् ।

पाटन अस्पतालमा २१ जना आइसोलेसन र २ जना आइसियु गरि २३ जनाको उपचार भई रहेको छ । यता टेकु अस्पतालमा १४ जना आइसोलेसन, ४ जना आइसियु गरि १८ जनाको उपचार भइरहेको छ ।

यस्तै बलम्बुमा रहेको शसस्त्र प्रहरी बलले संचालन गरेको शसस्त्र प्रहरी अस्पतालमा २३ जना संक्रमितको आइसोलेसनमा राखी उपचार भइरहेको छ । टिचिङ अस्पताल महाराजगंजमा ४ जना आइसोलेसन तथा एक जना आइसियु र एक जना भेन्टिलेटरमा गरि छ जनाको उपचार भई रहेको छ ।

धुलिखेल अस्पतालमा एक जना आइसोलेसन र एक जनालाई आसियुमा राखी उपचार भई रहेको आपत्कालिन स्वास्थ्य संचालन केन्द्रका प्रमुख डा.समिर कुमार अधिकारीले जानकारी दिए । टिचिङ अस्पताल दुवाकोट, ह्याम्स अस्पताल र किर्तिपुर आयुर्वेदिक अस्पतालमा भने कोरोना संक्रमित भर्ना भएका छैनन् ।