आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

थुनुवा र सुरक्षाकर्मीमा कोरोना संक्रम

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १६:४२ मा प्रकाशित (३ साल अघि) ४२५ पाठक संख्या

बाँके । बाँकेको नेपालगन्ज कारागारमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर जाँचमा नेपालगन्ज कारागारमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज कारागारमा रहेका एक जना थुनुवा र एक जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको नेपालगन्ज कारागारका प्रमुख जेलर देवेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चोरी मुद्दामा कैद भोगी रहेका नेपालगन्ज उपमहानगरपालिकाका ६ का २८ बर्षिय एक थुनुवा पुरुष र सुर्खेत गुर्भाकोट ६ का ३० बर्षिय नेपाल प्रहरीका एक जवानमा कोरोना पोजेटिभ देखिएको हो । प्रहरी जवान नेपालगन्ज कारागारमा कार्यरत रहेका छन् ।

केहीदिन पहिला ती थुनुवा व्यक्ति बिरामी भएपछि भेरी अस्पतालमा चेकजाँचकालागि दुई सुरक्षाकर्मीका साथ पठाइएको थियो । दुई दिन दुई रात ती व्यक्ति अस्पतालमै उपचार गराएर बसेका थिए । उपचार पश्चात् कारागारमा फर्के लगत्तै ती थुनुवा र दुई सुरक्षाकर्मीलाई कारागार भित्रै अलग्गै क्वारेन्टाइनको व्यवस्था गरी राखिएको जेलर श्रेष्ठले जानकारी दिए ।

कारागार फर्केको ४-५ दिनपछि ती तिनै जनाको कोरोना जाँच गर्दा बिहीवार एक थुनुवा र एक प्रहरीमा कोरोना देखियो भने अर्का एक प्रहरीमा कोरोना नदेखिएको जेलर श्रेष्ठले बताए । उनले ती सुरक्षाकर्मी र थुनुवामा अस्पताल बाटै कोरोना सरेको हुनसक्ने बताए ।

हाल उनिहरुलाई खजुरास्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ ।