आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १६:१४ मा प्रकाशित (३ साल अघि) २९४ पाठक संख्या

२ साउन, काठमाडाैँ । अजोड इन्स्योरेन्सकाे आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २५ गते देखि सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता शेयर आज बाँडफाँड गरेकाे हाे ।शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको जनाएको छ ।

त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी २ लाख ११ हजार ४९८ जनाले शेयर पाएनन् । क्यापिटलका अनुसार आईपीओमा ५ लाख २ हजार २९८ वटा आवेदन परेकोमध्ये १७ हजार ८०० वटा आवेदन रद्ध भएका छन् ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ असार २५ गते बिहिबारदेखि बिक्री खुला गरेको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको थियो। बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ । त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ ।