आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

दुई साता नबित्दै बढ्यो इन्धनको मूल्य

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार ०८:१२ मा प्रकाशित (३ साल अघि) २७३ पाठक संख्या

नेपाल आयल निगमले दुई साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । स्वचालित मूल्य प्रणालीअन्तर्गत प्रत्येक १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा १० दिनमै मूल्य बढाइएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढएको हो । निगमले पेट्रोल, डिजल र मटीतेलको मूल्य प्रतिलिटर एक-एक रुपैयाँ बढाएको छ । लकडाउन अवधिमा मूल्य नबढाएको निगमले लकडाउन खुकुलो भएसँगै दुईपटक मूल्य बढाइसकेको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढाइएको दावी गरे ।

निगमले असारमा दोस्रोपटक मूल्य बढाएको हो । यसअघि पेट्रोलमा लिटरमै पाँच रुपैयाँ र डिजल तथा मट्टितेलमा लिटरमा दुई रुपैयाँ मूल्य बढाएको थियो । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यअनुसार निगमले मूल्य बढाएसँगै अब काठमाडौंमा पेट्रोल लिटरको १ सय २ रुपैयाँ र डिजल तथा मटीतेल ८८ रुपैयाँ लिटर पर्नेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । आईओसीले जुलाइमा पठाएको मूल्यअनुसार पेट्रोल लिटरको ३ रुपैयाँ ७५ पैसा, डिजल लिटरमा ३ रुपैयाँ ८२ पैसा, मट्टितेलमा १४ रुपैयाँ २५ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३ पैसा र एलपि ग्यास सिलिण्डरको ६ रुपैयाँ ७७ पैसाले बढेर आएको छ । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्ने पूर्वाधार कर प्रतिलिटर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ बनाएको थियो । गत जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत् हवाइ इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थमा लाग्ने भन्सार दर १० रुपैयाँले बढाएका थिए ।

पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार शुल्कबाट २५ रुपैयाँ २० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर २-२ रुपैयाँबाट बढाएर १२-१२ रुपैयाँ पु¥याइएको छ । उच्च महसुल र अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण नेपालमा इन्धनको मूल्य बढेको हो ।