आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

आरडिटी रिपोट नेगेटिभ आएपछि घर गएका ३ जनामा कोरोना सङ्क्रमण

गोकर्णेश्वर खबर११ असार २०७७, बिहीबार १८:१३ मा प्रकाशित (३ साल अघि) ३१९ पाठक संख्या

तानसेन : पाल्पामा आरडिटी परीक्षणमा नेगेटिभ रिपोट देखिएपछि घर पठाएका ३ जनामा  संक्रमण देखिएको छ । तीनै जना संक्रमित व्यक्ति माथाँगढी गाउँपालिकाका रहेका छन् । गाउँपालिकाको वडा नं १ चिदीपानी  सौभाग्य मावी क्वारेन्टाइनमा बसेर आरडिटी परीक्षणपछि गत जेठ २७ गते घर गएका एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

उनी घर गएको ७ दिनपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमित युवा गाउँमा मेलापात तथा अन्य कार्यमा सहभागी भएका थिए । सक्रमित युवाको गाउँ बुढिकोट सिल गरी कन्ट्रयाक ट्रेसिङ बढाएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।  गाउँपालिकाकै  वडा नं २ रुप्सेका एक जना आरडिटी परीक्षणपछि  रिपोट नेगेटिभ आएपछि गत जेठ २९ गते घर गएका पुरुषमा समेत कोरोना सङ्क्रमण देखिएको छ । माथागढी गाउँपालिकाकै वडा नं ३ कसेनीको दिव्यज्योति क्वारेन्टाइनमा बसेकी एक महिलामा घर गएको दुई दिनपछि कोरोना सक्रमण देखिएको छ । कसेनीको क्वारेन्टाइनमा बसेका महिला भने असार ८ गते घर गएको र १० गते कोरोना सक्रमणको रिपोर्ट आएको हो ।

गाउँमा जोखिम नबढोस् भनी ३ वटै क्षेत्रमा कन्ट्रयाक ट्रेसिङ्गको आधारमा स्वाब संकलनको सुरु गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जि.सी.ले बताए ।  संभावित जोखिम भएका व्यक्तिलाई घरपरिवारबाहेक अन्य ठाउँमा नजान अनुरोध गरिएको र शुक्रबारदेखि स्वाब संकलन सुरु हुने संयोजक जि.सीं.ले बताए ।

आरडिटी परीक्षणपछि घर गएका व्यक्तिमा पुन पीसीआर गर्दा कोरोना सङ्क्रमण देखिएपछि स्थानियबासीमा त्रास फैलिएको छ, भने समुदायमा कोरोना संक्रमणको जोखिम बढेको छ ।  पाल्पामा हालसम्म ३ सय ६९ जना कोरोना सक्रमण देखिएको र एक जनाको मृत्यु भएको छ भने ७ जना निको भइ घर फर्किएका छन् ।