आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

कोभिड-१९ अपडेट : कुन प्रदेशमा कति संक्रमित ?

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार २२:१८ मा प्रकाशित (३ साल अघि) २३६ पाठक संख्या

काठमाडौं / नोबल कोरोना भाइरसबाट संक्रमण हुनेमा सबैभन्दा बढी प्रदेश २ का देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको विवरण अनुसार प्रदेश २ मा संक्रमितको संख्या दुई हजार ४६५ पुगेको छ। तर, प्रदेशमा २ मा संक्रमित पुष्टि हुनेको मात्र नभई संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका संक्रमितको एकल संख्याभन्दा प्रदेश २ मा कोरोनामुक्त हुनेको संख्या धेरै छ। यी चार प्रदेशमध्ये सबैभन्दा धेरै प्रदेश १ मा ४०४ संक्रमित भेटिएका छन्। जबकी प्रदेश २ मा संक्रमणमुक्त हुनेको संख्या नै ४५४ छ। प्रदेश २ मा कोभिड–१९ बाट तीन जनाको निधन भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म नेपालमा संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ। यसमध्ये १९ जनाको निधन भएको छ भने एक हजार १५८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४०४ जनामा संक्रमण पुष्टि भएको छ भने १७५ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म प्रदेश १ मात्रै कोभिड–१९ बाट कसैको मृत्यु भएको छैन।

बागमती प्रदेशमा २३४ जनामा संक्रमण पुष्टि भएको छ। चार जनाको निधन भएको बागमतीमा ५० जना कोरोनामुक्त भएका छन्।

गण्डकी प्रदेशमा २२१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये एक जनाको निधन भएको छ भने १४ जना संक्रमणमुक्त भएका छन्।

एक हजार ८२१ जनामा संक्रमण पुष्टि भएको प्रदेश ५ मा सबैभन्दा धेरै ६ जनाको निधन भएको छ। ३५२ जना संक्रमणमुक्त भएका छन्।

सबैभन्दा पछि संक्रमण देखिएको कर्णाली प्रदेशमा एक हजार १०४ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ८६ जना संक्रमणमुक्त भएका छन् भन् तीन जनाको निधन भएको छ।

कर्णालीमा आज एकैदिन १९१ जना संक्रमणमुक्त भएका छन् जसलाई स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरिनसकेकाले कूल संख्यामा जोडिसकेका छैनौं। प्रदेश स्वास्थ्य निर्देशनालयले भने यसको पुष्टि गरिसकेको छ।

यसैगरी, ३४२ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशमा २७ जना संक्रमणमुक्त हुँदा दुई  जनाको निधन भएको छ।

पछिल्लो २४ घण्टामा यी जिल्लामा थपिए कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार झापाका एक, पाँचथरका एक, सुनसरीका दुई, सिराहाका दुई, रौतहटका ३८, महोत्तरीका ८९, पर्साका दुई, गोरखाका १०, नवलपरासी पूर्वका तीन, बाग्लुङका एक र तनहुँका दुईजनामा संक्रमण पुष्टि भएको छ।

कास्कीका तीन, स्याङ्जाका चार, अछामका एक, बैतडीका २१, डोटीका २०, कञ्चनपुरका ११, कैलालीका २३, बाँकेका एक, बर्दियाका नौ, सप्तरीका तीन, अर्घाखाँचीका नौ, र रूपन्देहीका चार जनामा पनि संक्रमण पुष्टि भएको छ।

दैलेखका पाँच, सुर्खेतका चार, धनुषाका २१, रामेछापका एक, सल्यानका एक, दाङका ५६, काठमाडौंका एक, मोरङका एक, रौतहटका १४, रोल्पाका एक र सर्लाहीका १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।