आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

पार्टी बनाउन देउवा लगायतका नेताहरुले पदको मोह त्याग्नुपर्छ : महामन्त्री शर्मा

गोकर्णेश्वर खबर२२ मंसिर २०८०, शुक्रबार १५:५१ मा प्रकाशित (५ महिना अघि) २३४ पाठक संख्या

दाङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको रूपान्तरित कांग्रेस बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवा लगायतका समकालीन नेताहरूले पदको मोह त्याग्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले रूपान्तरित बलियो कांग्रेस बनाउनका लागि नेताहरूमा त्याग हुनुपर्ने बताएका हुन्।

नेतालाई पदले भन्दा कामले लोकप्रिय बनाउने भन्दै महामन्त्री शर्माले पाँच पटक प्रधामन्त्री बनिसकेका पार्टी सभापतिले अब पदको मोह त्याग गरी बस्नुपर्ने बताएका हुन्।

पार्टीका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइलाराले धनुषाको जनकपुर भाषणका क्रममा दाङका पर्शुनारायण चौधरीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको विषय नेता तथा कार्यकर्तालाई सुनाउँदै महामन्त्री शर्माले भने,‘हाम्रो पार्टी सभापतिज्यू पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अब फेरि प्रधानमन्त्रीको लोभ गर्ने होइन, योग्य र सक्षमलाई नेतृत्वका लागि अघि बढाउने हो।’

महामन्त्री शर्माले गौतम बुद्ध एक पटक पनि कुनै पदमा नपुगेर विश्वभरी चर्चित भएको भन्दै राम्रो काम गर्नका लागि पदको आवश्यकता नभएको बताए।

कांग्रेसलाई बलियो र देशको प्रमुख पार्टीका रूपमा स्थापित गर्नका लागि कांग्रेसीहरू बदलिन आवश्यक रहेको बताए।

मिसन ८४ भनेर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले रमाइलो गरिरहेको भन्दै महामन्त्री शर्माले कांग्रेसले वर्तमान देशको चिन्ता गरेर विकासमा लागेको बताए।

‘कांग्रेसलाई देश बनाउने भन्ने चिन्ता छ। जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम कसरी गर्ने भन्नेमा ध्यान छ’,महामन्त्री शर्माले भने,‘तर एमाले र स्वतन्त्र पार्टीलाई अहिलेको देशको अवस्थाका बारेमा चिन्ता छैन। उनीहरूलाई ८४ सालको निर्वाचनको चिन्ता गरेर मिसन ८४ भन्दै हिँडेका छन्,यो मेरा लागि रमाइलोबाहेक अरू होइन।’