आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

गोकर्णेश्वर प्रथम उप-मेयर कप फुटबलको उपाधि क्रिजल मण्डिखाटारलाई

गोकर्णेश्वर खबर१५ असार २०८०, शुक्रबार १८:०८ मा प्रकाशित (१0 महिना अघि) ५५ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर प्रथम उपमेयर कप फुटबलको उपाधि क्रिजलले हात पारेको छ ।

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित प्रथम उप-मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी क्रिजल फुटबल क्लब मण्डिखाटारले जितेको हो।

नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा भएको उक्त प्रतियोगितामा कुल १२ वटा टिमको सहभागिता रहेको थियो। बिहिबार भएको फाइनल खेलमा क्रिजल फुटबल क्लब मण्डिखाटारले जुनियर फुटबल क्लब बालुवाटारलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधी हासिल गरेको हो ।

उक्त फाइनल खेलको अन्तिम समयमा क्रिजलका खेलाडीले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो । जितसंगै क्रिजलले नगद रु १ लाख ३६ हजार , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता जुनियर फुटबल क्लब बालुवाटारले नगद रू ६८ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा सर्वाधिक गोल कर्ताको उपाधी जुनियर फुटबल क्लबकि सुजिता घलानले प्राप्त गरिन् । त्यस्तै उत्कृष्ट गोल रक्षक उषा थापा घोसित हुँदा उत्कृष्ट खेलाडी क्रिजलकी सम्झना तामाङ घोसित भइन् । खेलमा उत्कृष्ट भएका खेलाडीहरुले नगद रु ५ हजार सहित ट्रफी हात पारे ।

बिजेता उप बिजेता र उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, विशेष अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, नगरपालिका खेलकुद विकास समितिका संयोजक संजय लामा वडा अध्यक्ष द्वय नन्दलाल श्रेष्ठ, जयराम महत लगाएतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा गोकर्णेश्वरबाट फुटबल खेलमा उल्लेखनीय योगदान पुर्याउने पुर्व राष्ट्रिय खेलाडी, रेफ्री प्रशिक्षक लगायतलाई सम्मान समेत गरिएको थियो ।