आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सामाजिक सञ्जालमा सभ्य र शिष्ट भइदिन पार्टी कार्यकर्तालाई रविको आग्रह

गोकर्णेश्वर खबर९ असार २०८०, शनिबार १७:४४ मा प्रकाशित (१0 महिना अघि) २३ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा गाली गलौजमा नउत्रिन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा उनले समर्थकले जथाभावी टिप्पणी गर्दा नेताहरुलाई पनि अप्ठेरो पर्ने बताए ।

‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन् । असाध्यै धेरै गालीगलौज गर्छन् भनेर आरोप लागेको छ । अब त्यो आरोप खपेर बस्न मिल्दैन’ उनले भने ।

पार्टीका नेताहरुलाई आएको गाली र आलोचनामाथि टिप्पणी गर्दा पनि सभ्य ढंगले गर्न लामिछानेले आग्रह गरे । नेताहरु इमानमा रहेका दिनसम्म मात्र कार्यकर्ताले बचाउने भन्दै उनले नेताहरुले इमान छाडेको दिन कार्यकर्ताले बचाउनतिर लाग्न नहुने पनि बताए ।

‘म यो पनि तपाईहरुलाई भन्न चाहन्छु–इमानमा रहुन्जेल बचाउनुपर्छ । मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाइदिनुभयो भने अहो रास्वपाका समर्थकहरु त कति शिष्ट भए भएछन्, पहिला त कस्तो थिए, अहिले त कति राम्रा भएछन् ? आलोचना त गर्छन, सुन्छन । तर कति सभ्य र शिष्ट ढंगले गर्छन् भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनुपर्नेछ’, लामिछानेले भने ।

उनले २०८४ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो बन्नबाट कसैले रोक्न नसक्ने पनि बताए । उनले रास्वपा आफ्नै कारणले मात्र पराजित हुने भन्दै अरुले हराउन नसक्ने दाबी गरे ।

‘हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लड्छौं । अरुले हामीलाई लडाउने तागतनै राख्दैन । म यति भन्न चाहन्छु । प्रयास त हुन्छन्, भइरहेका छन् । अहिले देख्नु भएको छैन संगठित रुपमा हामीलाई लडाउने प्रयास भईरहेको छ । यो राम्रो कि त्यो राम्रो भनेर नयाँनयाँ नेताहरुको फोटो राख्दै’ रविले भने ।