आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

नेपालद्धारा नेदरल्यान्ड्सलाई १६८ रनको सामान्य लक्ष्य प्रस्तुत

गोकर्णेश्वर खबर९ असार २०८०, शनिबार १७:३० मा प्रकाशित (११ महिना अघि) ४८ पाठक संख्या

काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको सामान्य चुनौती दिएको छ ।

हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ४४।३ ओभरमा सबै विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुनै पनि ब्याटरले खुलेर रन बनाउन सकेनन् । एकपछि अर्को विकेट पतन भएको नेपाली पारी कुनै पनि ब्याटरले धान्न नसक्दा सस्तैमा समेटिएको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले बनाएको ३३ रन नै सर्वाधिक हो । नवौँ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले केही पारी सम्हाल्दै नेपाललाई उकास्ने प्रयास गरे । तर लोगन भान बिकको बलमा बाउन्ड्री लाइनमा सन्दीप क्याच आउट भएसँगै नेपाल अलआउट हुन पुग्यो । सन्दीपले ३३ बलमा चार चौका प्रहार गर्दै २७ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले पनि २७ रन नै बनाउँदा भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६, करण केसीले एक र आसिफ शेख शून्यमा आउट भए ।

बलितर्फ भान बिकले चार विकेट लिँदा नेदरल्यान्ड्सका अर्का बास डे लिड र विक्रम सिंहले समान २–२ विकेट लिए ।
विश्वकप छनोटको सुपर सिक्समा पुग्नका लागि आजको खेल नेपालले जित्नैपर्ने हुन्छ । आजको खेलमा नेदरल्यान्ड्स पराजित भएमा अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि नेदल्यान्ड्स पराजित भएमा मात्रै नेपाल विश्वकप छनोटको सुपर सिक्समा पुग्नेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग आठ विकेटको हार ब्यहोरेको थियो । त्यसपछि आफ्नो दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल तेस्रो खेलमा भने वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।