आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

समाजवादी मोर्चाबाट कोही नतर्सिए हुन्छ : उपेन्द्र यादव

गोकर्णेश्वर खबर४ असार २०८०, सोमबार १९:१२ मा प्रकाशित (११ महिना अघि) २१६ पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यो मोर्चा कसैका विरूद्ध नभएको बताएका छन्।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै यादवले यो मोर्चा कोहीविरूद्ध नभएको बताएका हुन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस मोर्चाबाट नतर्सिन पनि आग्रह गरेका छन्।

‘यो मोर्चा कसैको विरूद्धमा लक्षित छैन, त्यसैले कोही नतर्सिए हुन्छ। केही साथीहरू घोषणा हुनुअघि नै मिडियामा बरबराइसके। नबरबराउन म अनुरोध गर्न चाहन्छु,’ उनले भने।

यद्यपि कसैले प्रतिगमनकारी कदम चाले त्यसविरूद्ध यो मोर्चा उभिने पनि उनले प्रष्ट्याए।

‘हामी देशको, जनताको हितको लागि, मुलुकको अग्रगमन, परिवर्तनको लागि सहकार्य, परस्पर सहयोगका आधारमा अगाडि बढ्छौं,’ उनले भने, ‘तर प्रतिगमनकारी शक्तिहरू जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई, विगतका आन्दोलन, बलिदान र संघर्षका आन्दोलनलाई समाप्त पार्ने खेल खेलेका छन्, त्यसविरूद्ध निश्चित रूपमा यो मोर्चा उभिनेछ। आवश्यक परे संघर्ष पनि गर्नेछ।’