आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

समाजवादी मोर्चा गठनको तयारीबारे ओलीको प्रश्न : लिभिङ टुगेदर चलेकै थियो त फेरि अर्को मोर्चा किन ?

गोकर्णेश्वर खबर२ असार २०८०, शनिबार १८:११ मा प्रकाशित (११ महिना अघि) १४० पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन्।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी र विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चा गठनको तयारी भइरहँदा ओलीले भने त्यसको ‌औचित्य नरहेको बताएका हुन्।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ‍ओलीले समाजवादी मोर्चा केवल एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउनका लागि बन्न लागेको पनि बताए।

अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालेसँग मुकाबिला गर्न र अर्को कांग्रेस तर्साउन, उनले भने,लिभिङ टुगेदर चलेकै थियो त फेरि अर्को किन?

उनले ती पार्टीमा भएका व्यक्तिहरूलाई आफूले राम्ररी चिनेको बताउँदै जुनसुकै मोर्चा बनेपनि डराउन आवश्यक नरहेको बताए।

त्यस्ता गठबन्धन र मोर्चाले केहीबेर एमालेलाई सत्ताबाहिर राख्नसम्म सक्ने ओलीको भनाई थियो।

एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ, उनले भने, २०८४ सम्म हुनसक्छ हामी अब मिसन ०८४ को तयारीमा छौँ । हामीलाई कसैले राष्ट्रिय शक्ति बन्नबाट रोक्न सक्दैन।’