आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सभामुखलाई गठबन्धनले महाभियोग ल्याउन बेर लगाउँदैनन्,लाज सरम भन्ने कुरा केही छैन : ओली

गोकर्णेश्वर खबर२३ चैत्र २०७९, बिहीबार १७:१६ मा प्रकाशित (१ साल अघि) ९२ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारबाट धेरै सकारात्मक भूमिकाको अपेक्षा गर्न नसकिने बताएका छन्।

उनले गठबन्धन अस्थायी कुरा भएको पनि बताए। ‘गठबन्धन भनेको अस्थायी कुरा हो। हामी पनि छौं, त्यसकारण देश बिग्रन दिँदैनौं,’ पेशागत महासंघको कार्यक्रममा बिहीबार ओलीले भने।

गठबन्धनका दलले यसअघिको राष्ट्रपतिलाई महाभियोग लगाउन खोजेको र नसकेको ओलीले दाबी गरेका थिए।

‘यसअघिको राष्ट्रपतिलाई महाभियोग लगाउन खोजेका थिए, पार लागेन,’ उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन यिनीहरूले महाभियोग ल्याउन बेर लगाउँदैनन्। किनभने २५ प्रतिशत पुगिहाल्छ। यिनीहरूसँग त बहुमत पनि छ। लाज सरम भन्ने कुरा केही छैन।’

यसअघि पनि प्रधानन्यायाधीशहरूलाई गठबन्धनका दलहरूले महाभियोग लगाएको ओलीले बताए। ‘गठबन्धनवालाहरू एक पटक होइन पटकपटक प्रधानन्यायाधीशमाथि महाभियोग लगाए,’ उनले भने, ‘सुशीला कार्कीमाथि लगाए, चोलेन्द्रशम्शेर राणामाथि पनि लगाए। प्रधानन्यायाधीश को छ भन्ने होइन। महाभियोग लगाएपछि दर्ता गरेर छ महिनासम्म घर्रामा राख्न मिल्छ?’

उनले यसअघिका सभामुख अग्निप्रसाद सापकोटाले सभामुख पदको गरिमा माटोमा मिलाउने काम गरेकोसमेत आरोप लगाएका थिए।

‘राजनीति क्षेत्रमा त हामीले यसभन्दा अघि संसदमा एक जना सभामुख देख्यौं, सभामुख भन्ने पदको गरिमा, इज्जत, मर्यादा सबै माटोमा मिलाउने काम भयो,’ ओलीले भने, ‘सभामुख साझा व्यक्ति हो तर एक व्यक्तिको लागि काम गरेका थिए। हाम्रा मानिस निकाल्यो भने तत्काल सूचना जारी गर्ने, पार्टी छाडिसकेकालाई निकाल्दा पनि सूचना नै नटाँस्ने।’