आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

रामचन्द्र पौडेल बने नेपालको तेस्रो राष्ट्रपति

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७९, बिहीबार १८:०० मा प्रकाशित (१ साल अघि) ७० पाठक संख्या

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।

८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।

प्रदेशतर्फको ५ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा भएको निर्वाचनमा संघीय संसदका ३१३ र प्रदेशसभाका ५१८ सांसदले मत खसालेका थिए।

राष्ट्रपतिको निर्वाचनमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३४ जना र प्रदेशसभाका ५५० जना सांसद मतदाता रहन्छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहने व्यवस्था छ।

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् ।