आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

आज राष्ट्रपति निर्वाचन, बेलुका ७ बजेभित्रै परिणाम आइसक्ने

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७९, बिहीबार ०८:१८ मा प्रकाशित (१ साल अघि) २९ पाठक संख्या

२५ फागुन, काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि बिहीबार मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भएको छ ।

राष्ट्रपति निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले सम्पूर्ण तयारी पूरा भएको बताउँदै बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जानकारी दिनुभयो । सङ्घीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहेको एउटा मतदान केन्द्र र प्रदेश सभा सदस्य मतदाता रहेको अर्को गरी दुईवटा मतदान केन्द्र तोकिएका छन् ।

दुवै मतदान केन्द्र सम्मेलन केन्द्रको ल्होत्से हलमै राखिएको छ तर मतदान गर्न भने सङ्घीय संसद्का सदस्य हलको मुख्य ढोका पश्चिमबाट प्रवेश गर्नेछन् । प्रदेश सभा सदस्यका लागि भने उत्तरतर्फको ढोका प्रयोग गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्।

बेलुका ७ बजेभित्रै मतपरिणाम

निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।

संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन्। संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ।