आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रपति निर्वाचन आज मध्यरातिदेखि मौन अवधि सुरु 

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७९, सोमबार १०:३० मा प्रकाशित (१ साल अघि) ३१ पाठक संख्या

२२ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज सोमबार मध्यरातिदेखि मौन अधवि सुरु हुने भएको छ। यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मौन अधवि सुरु हुने छ।

निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आज मध्यरातबाट मौन अवधि सुरु हुन लागेको हो।

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था छ। सोही अनुसार मौन अवधि सुरु हुन लागेको हो।

आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुर तथा सजाय ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७० को दफा १७ बमोजिम सजाय हुने आयोगले जनाएको छ।

‘उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार-प्रसार गर्न मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ’, आयोगको सूचनामा भनिएको छ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा आज रातिदेखि मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचार(प्रसार निषेध कायम रहने छ ।