आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

एमालेको निर्णय : सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकार छाड्ने 

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७९, सोमबार १५:०९ मा प्रकाशित (१ साल अघि) ३५ पाठक संख्या

१५ फागुन, काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकार छाड्ने निर्णय गरेको छ । यससँगै एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो ।

तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो ।  प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बनेको हो ।

राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेका काम गर्ने सोच बनाएको भए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको उपाध्यक्ष विष्णु पौडेलले बताए ।