आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

रास्वपामा १६ जना केन्द्रीय सदस्य थपिए

गोकर्णेश्वर खबर१ फाल्गुन २०७९, सोमबार २०:३८ मा प्रकाशित (१ साल अघि) २८ पाठक संख्या

१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा १६ जना केन्द्रीय सदस्य थपिएका छन् । यससँगै रास्वपामा केन्द्रीय समिति ४० सदस्यीय बनेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले थप १६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाको केन्द्रीय समितिमा मनोनीत हुनेहरूमा ज्वाला संग्रौला, रमेश प्रसाईं, बिन्दबासिनी कंसाकारलगायत रहेका छन् । ज्वाला संग्रौलाले आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएकी छिन् भने रमेश प्रसाईंले ग्यालेक्सी-४ के टेलिभिजनमा ‘लालमोहर’ नामक कार्यक्रम चलाउँथे । बिन्दबासिनी भने एसिड आक्रमणमा परेकी व्यक्ति हुन् । उनलाई रास्वपाले समानुपातिकतर्फको सूचीमा समेत राखेको थियो ।

त्यस्तै केन्द्रीय सदस्यमा मनोनीत अर्की सदस्य प्रतिभा रावल ग्यालेक्सी-४ केमा कार्यक्रम निर्माताका रूपमा कार्यरत थिइन् । त्यस्तै मेघ आले पर्यटन व्यवसायी हुन् ।

त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार, प्रवासी नेपाली सम्पर्क, प्रशिक्षण , संगठन, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्तालगायतका २२ वटा विभाग निर्माण गरी प्रमुख तोकेको छ ।