आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

स्वतन्त्र पार्टीले गृह मन्त्रालयको अडान नछोड्ने, दुई दिन अझै पर्खने

गोकर्णेश्वर खबर२० माघ २०७९, शुक्रबार ०८:२५ मा प्रकाशित (१ साल अघि) ७० पाठक संख्या

२० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको अडान नछोड्ने भएको छ। रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक दाबी भएको बताए ।

करिब चार घण्टासम्म चलेको बैठकमा दुई दिनपछि बैठक पुनः बस्ने र आवश्यक निर्णय गर्ने जानकारी बैठकपछि पत्रकारहरूलाई दिइएको छ ।

पार्टीको संयुक्त बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीको फोन आएको थियो । उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेर छलफल गर्ने वचन पाएकोले रास्वपाले त्यसका लागि दुई दिन समय दिने निर्णय गरेको हो ।

‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । यो अडानबाट हामी पछाडि हट्दैनौं । र पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो । अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन,’ उनले भने । ढकालले रास्वपाले गृह मन्त्रालय पाइराख्दा व्यक्ति को पठाउने भन्ने विषयमा भने पार्टीले निर्णय गर्ने बताएका छन् ।