आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

माओवादीले गृह मन्त्रालय कुनै हालतमा नछोड्ने

गोकर्णेश्वर खबर१९ माघ २०७९, बिहीबार ०८:३५ मा प्रकाशित (१ साल अघि) ३४ पाठक संख्या

१९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय छोड्न नहुने ‘बटमलाइन’ बनाएको छ । सोमबार र मंगलबार बसेको पदाधिकारी बैठक र त्यसअघि बसेको स्थायी कमिटी बैठकमा समेत प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालय माओवादीले नै राख्नुपर्ने सुझाव आएपछि माओवादी गृह मन्त्रालय नछोड्ने बटमलाइनमा पुगेको हो ।

सामान्यतया सरकारको नेतृत्व गर्ने पार्टीले गृह, अर्थ, परराष्ट्र र कानुनजस्ता मन्त्रालय लिने परम्परा छ । तर सत्ता समीकरण मिलाउँदा प्रचण्ड नेतृत्वको सरकारले तीमध्ये कुनै पनि मन्त्रालय पाएको छैन ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा समेत गृह मन्त्रालयका बारेमा छलफल भएको छ । छलफलका क्रममा अध्यक्ष ओलीले राखेको गुनासो प्रचण्डलाई सुनाएका थिए । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार गठन गर्दा लिएको उद्देश्य र यसले अघि सारेका कार्यभार पुरा गर्न पनि गृह मन्त्रालय सरकारकै नेतृत्व गर्ने दलले लिँदा काम गर्न सहज हुने धारणा राखेका थिए ।

माओवादी स्थायी र पदाधिकारी बैठकमा नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालय कुनै हालतमा छोड्न नहुने सुझाव दिएको स्वयं प्रचण्डले सार्वजनिक रूपमै बताइसकेका छन् ।