आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

संसद्‍लाई रवि लामिछानेको पद रिक्त भएको जानकारी गराइयो 

गोकर्णेश्वर खबर१८ माघ २०७९, बुधबार १८:५७ मा प्रकाशित (१ साल अघि) ६६ पाठक संख्या

१८ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतको संवैधानिक इजलासको उत्प्रेषणको आदेशले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायतका काम बदर गरेको पत्र प्राप्त भएको जानकारी गराएका थिए ।

सर्वोच्चले माघ १५ गते प्रतिनिधिसभालाई रवि लामिछानेको पदसम्बन्धी मुद्दाको विषयमा भएको फैसलाको जानकारी गराएको थियो । युवराज पौडेल तथा अधिवक्ता रविराज बसौला र नानीबाबु खत्री रिट निवेदक रहेको निवेदनमा संवैधानिक इजलासले लामिछाने सांसदका लागि अयोग्य भएको फैसला गरेको थियो ।

सर्वोच्चको आदेशसँगै लामिछानेको पद रिक्त भएपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।