आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, राष्ट्रपति निर्वाचनबारे छलफल

गोकर्णेश्वर खबर१८ माघ २०७९, बुधबार १२:२२ मा प्रकाशित (१ साल अघि) ९६ पाठक संख्या

१८ माघ, काठमाडौं । सत्ता गठबन्धनमा खटपट परिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ ।

गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने खोजे पनि नेकपा एमालेले रास्वपालाई नै दिन दबाव दिंदै आएको छ । रास्वपाले पनि आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सत्ता साझेदार दलले कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा छलफल गरिरहेका छन्। आजै प्रधानमन्त्री प्रचण्ड र राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री राजेन्द्र लिङ्देनबीच पनि भेटवार्ता भएको छ। भेटमा समसामयिक विषयमा छलफल भएको थियो।