आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

उपप्रधान एवम् गृहमन्त्री लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

गोकर्णेश्वर खबर११ माघ २०७९, बुधबार १६:१७ मा प्रकाशित (१ साल अघि) ५० पाठक संख्या

११ माघ, काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा लामिछानेको तर्फबाट बुधबार ३ जनाले बहस गरेका छन् । अधिवक्ताहरु वरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल र सुशील पन्तसहित सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले लामिछानेको पक्षमा बहस गरेका हुन् । बहस नसकिएकाले अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको हो ।

बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गरे । खाजापछि सरकार र रवि लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका थिए ।

पूर्ण सुनुवाइपछि मुख्यतः लामिछानेको नागरिकता विवादसँगै नागरिकता त्याग र प्राप्ति तथा नेपाल नागरिकता ऐन, २०६३ मा रहेका प्रावधानबारे संवैधानिक इजलासबाट व्याख्या हुनेछ ।

अधिवक्ता रविराज बसौला र नागरिकका रूपमा युवराज पौडेल लगायतले दायर गरेको रिटमा नेपाल नागरिकता ऐन, २०६३ को नागरिकता त्याग र प्राप्तिका विषयमा प्रश्न उठाइएको छ ।