आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने महामन्त्री थापाको भनाई

गोकर्णेश्वर खबर२६ मंसिर २०७९, सोमबार १५:३० मा प्रकाशित (१ साल अघि) १९ पाठक संख्या

२६ मंसिर, काठमाडौं । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । थापाले बन्दी रिहाइका लागि भनेर सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको अध्यादेश फिर्ता लिनुपर्ने बताएका हुन् । उनले सरकारले गलत निर्णय लिएको र त्यसको भारी पार्टीले बोक्न नसक्ने बताएका हुन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले रेशम चौधरी, सीके राउतको जनमत पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जघन्य अपराधमा संलग्न भई अदातलबाट कैद सजाय सुनाएकालाई रिहाइका लागि भन्दै अध्यादेश पारित गरेको थियो । उक्त अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ ।

अध्यादेशको विरोधमा महामन्त्री विश्वप्रकाश शर्माले गरेको आलोचनाको समर्थन गर्दै महामन्त्री थापाले पार्टीले अध्यादेशको समर्थन गर्न नसक्ने स्पष्ट पारेका छन् । थापाले अहिले पार्टीभित्र अध्यादेशका बारेमा कुनै छलफल नभएको र कुनै पनि निर्णय पनि नभएकोले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही हो भन्दै सरकारले गलत निर्णय लिएको र त्यसको भारी पार्टीले बोक्न नसक्ने बताएका छन् । अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन ।

अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले गलत रहेको थापाको भनाइ छ । उनले अध्यादेश गलत हुनुका थप कारण भनेका छन्, यो असंवैधानिक, अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ । अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन । अध्यादेश ल्याउन कानुनी र संवैधानिक हैसियत यो सरकारलाई छैन । यसको विषय र मनसाय गलत छ ।