आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सत्ता गठबन्धन एकताबद्ध भएर अघि बढ्ने 

गोकर्णेश्वर खबर१९ मंसिर २०७९, सोमबार १९:३९ मा प्रकाशित (१ साल अघि) २५ पाठक संख्या

१९ मंसिर, काठमाडौं । सत्ता गठबन्धनले एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको गठबन्धनले निष्कर्ष निकालेको छ ।

सोमबार बसेको गठबन्धनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको उल्लेख गरिएको छ ।

निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने भन्दै विज्ञप्तिमा गठबन्धनप्रति आम मतदाताले दर्साएको विश्वास र मायाप्रति आभार प्रकट गरिएको छ ।

संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले भनेको छ- ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ। मुलुमका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ।’