आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

गृहमन्त्री बालकृष्ण खाँण पराजित, गुप्तचरको रिपोर्ट फेल

गोकर्णेश्वर खबर११ मंसिर २०७९, आईतवार १२:२० मा प्रकाशित (१ साल अघि) २२ पाठक संख्या

११ मंसिर, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण राप्रपाका दीपक बोहरासँग २ हजार ६ सय ८१ मतले पराजित भएका छन् ।

मनोनयन दर्तापछि अधिकांश समय निर्वाचन क्षेत्रमा बिताएका खाँणमाथि आफ्नै पार्टी सम्हाल्न नसकेको आरोप लाग्दै आएको छ । सरकारी गुप्तचरले गृहमन्त्रीले चुनाव जित्ने रिपोर्ट पेस गरेका थिए । स्वयं खाँणले पनि जिल्लामा आयोजित कार्यक्रममा गठबन्धनले १ सय ३० सिट जित्ने दाबी गरेका थिए । खाँणले ३४ हजार ३६ मत पाएका छन् भने बोहराले ३६ हजार ७ सय १७ मत ल्याएका छन् ।

२०७४ को निर्वाचनमा कांग्रेसको समर्थनमा उम्मेदवार बनेका बोहरालाई यस पटक एमालेले सहयोग गरेको थियो । पाँच वर्षअघि कांग्रेसका सबल र दुर्बल पक्ष बुझेका बोहराले यस पटक ‘नबोलेरै’ चुनावमा जित प्राप्त गरे । ९ पटक मन्त्री भइसकेका उनी कोभिडपछिको समस्याका कारण बोल्न सक्दैनन् ।

गृहमन्त्री हुनुपूर्व खाँण जिल्लामा लोकप्रिय मानिन्थे । परिवारवादको आरोप उनीमाथि लागेको छ । आफ्नै भाइ रामकृष्णलाई जिल्ला सभापति बनाए । २०७४ मा अवसर पाएर पराजित उनै रामकृष्णलाई गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुख बनाए । आफ्नै श्रीमती मञ्जु खाँणलाई समानुपातिक सूचीमा राखे । परिवारवादको आरोप र जिल्लामा आसेपासेको रजगजले गृहमन्त्रीलाई कमजोर मात्र बनाएन । चुनावमा पराजय पनि भोग्नु पर्यो ।