आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कास्कीमा मतपेटिका फुटाउने पक्राउ, बाजुरामा मतपेटिकामा आगजनी

गोकर्णेश्वर खबर४ मंसिर २०७९, आईतवार १६:११ मा प्रकाशित (१ साल अघि) १८ पाठक संख्या

४ मंसिर, काठमाडौं । कास्कीको निर्वाचन क्षेत्र ३ स्थित माछापुच्छ्रे गाउँपालिका–८ को लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाउने एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा नेकपा बहुमत पार्टीका इलाका समिति सदस्य सूर्य परियार रहेका छन् ।

निर्वाचन विरोधी अभियान चलाएको धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले मतदान कार्य विथोल्ने क्रममा उक्त मतदान केन्द्रको प्रतिनिधिसभा अन्तर्गतको मतपेटिका फुटाएका हुन् । मतपेटिका फुटेपछि मतपत्र छरपस्ट भएका थिए । उक्त केन्द्रमा एकसय मत खसेपछि उक्त घटना भएको हो । छरपस्ट मतपत्रलाई सर्वदलीय सहमतिका आधारमा मुचुल्का उठाइ प्याक गरिएको र मतदान कार्य सूचारु रहेको छ । ती मतपत्र पनि मान्य हुने गरी राखिएको छ ।

बाजुरामा मतपेटिकामा आगजनी  

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको एक मतपेटिकामा आगजनी भएको छ ।

बाजुरामा  निर्वाचन क्षेत्र १ अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदान स्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो ।

मतपेटिकामा कसले आगो लगायो भन्ने विषय खुलेको छैन । प्रहरीले र अधिकारीहरूले अब, के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।