आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

‘गठबन्धनले जिते ओलीले जस्तो बिचैमा संसद भंग गर्दैनौं’- प्रधानमन्त्री देउवा

गोकर्णेश्वर खबर२९ कार्तिक २०७९, मंगलवार १७:३१ मा प्रकाशित (१ साल अघि) ३१ पाठक संख्या

२९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले आम निर्वाचन जिते आगामी ५ वर्ष संसद भंग नगर्ने दाबी गरेका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताए।

चुनावी सभा सम्बोधनको क्रममा देउवाले भने, ‘आफ्नो बिरोध हुने बित्तिकै केपी शर्मा ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे। हामीले त्यसो गर्दैनौं,हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद भंग गर्दैनौं । हामी ५ वर्ष संसद चलाउँछौ। त्यसका लागि सत्ता गठबन्धनलाई जिताउन आवश्यक छ।’

आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको आरोप लगाउँदै देउवाले सत्ता गठबन्धनको बारेमा कसैले चिन्ता गर्न नपर्ने उल्लेख गरे।

समावेशी संविधान बचाउन गठबन्धन भएको दाबी गर्दै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहने बताए। चुनावी सभामा भाग लिन देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै नवलपरासी पुगेका छन्।