आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

छात्रालाई प्रलोभन दिई दुःख दिने चामुण्डा स्कूलका कम्प्युटर शिक्षक पक्राउ 

गोकर्णेश्वर खबर१२ भाद्र २०७९, आईतवार २२:४२ मा प्रकाशित (१ साल अघि) १२९६ पाठक संख्या

१२ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ स्थित चामुण्डा माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने एक छात्रालाई फेसबुक मेसेन्जरबाट विभिन्न प्रलोभन दिई दुःख दिने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

सामुदायिक विद्यालय चामुण्डा मा.वि. का कक्षा ११-१२ का विद्यार्थीलाई कम्प्युटर पढाउने शिक्षक अभिषेश भण्डारीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । भण्डारीले सोही कलेजमा अध्ययनरत छात्रालाई विभिन्न प्रलोभन देखाउने र कम्प्युटर कक्षाको प्रयोगात्मक अंक पाउन आफुले भनेको कुरा मान्नुपर्ने दबाब दिएको पीडितबीच भएको फेसबुक कुराकानीमा फेला परेको छ । पक्राउ परेका शिक्षक भण्डारीलाई खुशी पार्न राती च्याट गर्नुपर्ने मेसेन्जरबाट फोटो पठाउनुपर्ने र नमाने धम्की दिने आरोप लागेको छ ।

यस विषयमा चामुण्डा विद्यालयका निमित्त प्रधानाध्यापक गुणराम आचार्यसँग बुझ्दा घटना भएको जानकारी हुने बित्तिकै आरोपित शिक्षक भण्डारीलाई प्रहरीलाई बुझाएको बताए । प्रधानाध्यापक आचार्यले विद्यालयमा थप अप्रिय घटना हुनबाट बचाउन गलत कार्यमा संलग्न शिक्षकलाई कारवाहीको लागि थप अनुसन्धानमा सहयोग गर्ने गरी विज्ञप्ति निकालिसकेको बताए । तर निष्काशनको लागि विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार बस्ने जानकारी दिएको छ ।

शनिबार र बिदाको दिन भेट्ने प्रस्ताव राखेर हैरान बनाउने र बारम्बार तस्बीर पठाउन आग्रह गरि दुःख दिएको पीडित छात्राले बताईन् । उनीहरुबीच भएको कुराकानी साथीभाईलाई सुनाए राम्रो नहुने धम्की समते दिएको उनले बताईन् । आफ्नो सन्तुष्टिका लागि छात्राहरुले आफुले भनेको कुरा मान्नुपर्ने र गलत दृष्टिकोणबाट विद्यार्थीमाथी दूव्र्यवहार गरेको भन्दै साथीमार्फत उक्त कुरा बाहिर आएपछि विद्यालय प्रशासनमा जानकारी गरेको र प्रशासनले मिलाउने प्रयास गरेपछि मिडियासामु आएको पीडितका अभिभावकले बताए ।

थप कारवाहीको माग सहित पीडित छात्रा र उनका साथीहरुले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएको छ । साथै आवश्यक कारवाहीको माग राखि गोकर्णेश्वर नगरपालिका शिक्षा शाखामा समेत जानकारी गराएको पीडितकी आफन्तले बताए । (साभार : प्रारम्भखबरबाट)