आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

एमालेले काभ्रेमा उम्मेदवार टुंग्यायो

गोकर्णेश्वर खबर११ बैशाख २०७९, आईतवार २०:३८ मा प्रकाशित (२ साल अघि) ३५७ पाठक संख्या

११ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले काभ्रेले उम्मेदवार टुंगाएको छ । जिल्लाका १३ वटै पालिका र १ सय ३५ वटै वडामा एमालेका उम्मेदवार टुंगो लागेको हो । एमालेले गठबन्धनका लागि माओवादी केन्द्रसँग पनि छलफल अघि बढाएको छ ।

एमालेले बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा, धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल, पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा डम्बर तिमल्सिना र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार टुंगो लागे पनि १३ वटै स्थानीय तहमा १२ गते सोमबार उम्मेदवारी दर्ता गर्ने गरी एमालेले तयारी गरेको छ ।

सत्ता गठबन्धनमा १३ स्थानीय पालिकामध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले १ स्थानीय तहमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।