आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

राष्ट्रपति विद्यादेवी भण्डारीबाट रेल्वे अध्यादेश, २०७८ जारी

गोकर्णेश्वर खबर९ चैत्र २०७८, बुधबार ०९:०५ मा प्रकाशित (२ साल अघि) ३६३ पाठक संख्या

९ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार रेल्वे अध्यादेश, २०७८ जारी भएको छ । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्थासहितको अध्यादेश तेस्रो पटक जारी भएको हो । जनकपुर–जयनगर रेल सञ्चालनको टुङ्गो अझै नलागे पनि अध्यादेश जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनमा आउने कानुनी आधार तयार भएको हो ।

यसअघि सरकारले गत मङ्सिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो तर सो अध्यादेश संसद्मै नपुगी निष्क्रिय भएको थियो । त्यसअघि सरकारले २०७८ वैशाखमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला पनि संसद् अधिवेशन सुरु नभएको र जारी भएको ६० दिनभित्र संसद्मा पेस हुन नसकेका कारण अध्यादेश निष्क्रिय भएको थियो ।

रेल विभागका महानिर्देशक दीपक भट्टराईले जनकपुर–जयनगर अन्तरदेशीय रेल सञ्चालनका लागि आवश्यक न्यूनतम पूर्वाधार तयार भइसकेको बताउँदै रेल सञ्चालन उद्घाटनको मिति नेपाल र भारतबीचको सहमतिमा तय हुन सक्ने स्पष्ट पारे । भट्टराईका अनुसार रेल सञ्चालनका लागि अब कुनै समस्या छैन । एक महिनादेखि जयनगरबाट कुर्थासम्म यात्रुबिना रेल ओहोरदोहोर गरिरहेको थियो ।