आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको ऋणपत्र जारी गर्ने

गोकर्णेश्वर खबर१५ माघ २०७८, शनिबार ०९:०० मा प्रकाशित (२ साल अघि) १८३ पाठक संख्या

१५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैङ्कले माघ १६ गते आइतबार १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सोमबार निष्कासन हुने विकास ऋणपत्र २०८२ ‘ङ’को अवधि चार वर्ष रहेको छ ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने शुक्रबार जारी भएको सूचनामा उल्लेख छ ।

ऋणपत्रका लागि इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

इच्छुक लगानीकर्ताले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिनेछ । ऋणपत्र यही माघ १७ गते निष्कासन हुनेछ भने २०८२ माघ १७ गते साँवा भुक्तानी हुनेछ ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ । यसअघि माघ १२ गते बुधबार पनि राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र जारी गरेको थियो ।

के हो विकास ऋणपत्र ?

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैङ्कबाट निष्कासन भएका विकास ऋणपत्र तीन वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् । सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउन नेपाल राष्ट्र बैङ्कले विकास ऋणपत्र जारी गर्ने गरेको छ ।