आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

यथाशक्य छिटो खोपको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

गोकर्णेश्वर खबर४ माघ २०७८, मंगलवार १८:२४ मा प्रकाशित (२ साल अघि) ६३ पाठक संख्या

४ माघ, काठमाडौं । संसदीय समितिले सबै नागरिकलाई यथाशक्य छिटो कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो । छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिडविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई समितिले सचेत गराएको छ ।

समितिका सभापति घर्तीका अनुसार ‘पहिलो उपचार भनेको खोप नै रहेछ । त्यसकारण यो खोपलाई छिटोभन्दा छिटो जनतामा पु¥याउने र त्यसलाई भिडभाड कम गरेर लगाउने व्यवस्था गरोस् भनेर समितिको तर्फबाट निर्देशन दिन चाहन्छु । खोपलाई छिटोभन्दा छिटो सरल ढंगले जनताको बिचमा लैजाऔं’ भनेर सरकारलाई सचेत गराएको हो ।

समितिले कोरोनाविरुद्धको खोप लगाउने ठाउँमा समेत भिडभाड देखिएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले स्थानीय तहका सरकारमार्फत गर्भवती, सुत्केरी, वृद्धवृद्धा, अशक्त र बालबालिकाहरूलाई घरैमा पुगेर खोप लगाउने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिइएको समितिकी सभापति घर्तीले बताइन् । समितिले होल्डिङ सेन्टरहरू छिटो सञ्चालनमा ल्याउन, सीमा क्षेत्रमा संक्रमण हुन नदिन कडा नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराएको छ ।