आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या,आज ३८२ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार १८:२१ मा प्रकाशित (२ साल अघि) १४६ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार सात पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितको यो संख्या पछिल्लो एक महिनामा सबैभन्दा बढी हो । यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते र मंसिर १६ गते ३१५ जना संक्रमित भेटिएका थिए । त्यसबाहेक मंसिर र पुस महिनामा संक्रमित संख्या ३ सय नाघेको थिएन ।

शुक्रबार जम्मा २३५ जना संक्रमित भेटिएकामा शनिबार डेढ सय भन्दा बढी संक्रमित थपिएका हुन् । शुक्रबार ७,८८५ पीसीआर परीक्षणमा २२४ जना मात्र संक्रमित भेटिएका थिए । जबकी शनिबार पाँच हजार सात जनाकै परीक्षणमा ३४२ संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा २४४ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३२, भक्तपुरमा ९, मोरङमा ८ र चितवनमा ७ जना संक्रमित भेटिएका छन् ।