आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

आज माओवादी केन्द्रको नयाँ नेतृत्व चयन हुँदै, महाधिवेशन सम्पन्न गर्ने तयारी

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार ०९:१० मा प्रकाशित (२ साल अघि) ३७७ पाठक संख्या

१७ पुष, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित शनिबार सम्पन्न गर्ने तयारी भएको छ । आज माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको हो । शनिबार ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको थिएन । विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । आज विधान संशोधन प्रस्ताव पारित गरेपछि निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ । माओवादीको महाधिवेशन पुस ११ देखि राजधानीमा सुरु भएको हो ।