आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

राजनीतिक सङ्घर्षबाट प्राप्त भएको सङ्घीयता बचाउन दल र नागरिक बीचमा मेलमिलाप अपरिहार्य : प्रधानमन्त्री

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार ०८:४३ मा प्रकाशित (२ साल अघि) ७८ पाठक संख्या

१७ पुष, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो राजनीतिक सङ्घर्षबाट प्राप्त भएको सङ्घीयता बचाउन राजनीतिक दल र नागरिक बीचमा मेलमिलाप हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले जनचाहनाअनुसार सङ्घीय व्यवस्था आएकोमा जोड दिंदै देशलाई बलियो बनाउन सबै पक्षका बीच एकताको आवश्यकता रहेको बताए ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सुक्रबार बीपी सङ्ग्रहालय समिति सुन्दरीजलमा आज आयोजित कार्यक्रममा उनले हिजो वीपी कोइरालाले जुन अर्थमा राष्ट्रिय सहमति र मेलमिलाप नीति खोजेका थिए आज मुलुकको वर्तमान अवस्थामा पुनः त्यही नीति र एकताको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री र मुलुकको जेठो लोकतान्त्रिक पार्टीको सभापति हुनाका नाताले सबैबीच राष्ट्रिय सहमति र मेलमिलाप कायम राख्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरे ।

कार्यक्रममा समितिका अध्यक्ष परशुराम पोखरेलले वीपी सङ्ग्रहालय स्थापनाका मूल मर्म आत्मसात गरेर कांग्रेसका नेता कार्यकता मात्र नभई सबैले मुलुक र जनताप्रतिको आफ्नो जिम्मेवारी तथा दायित्व बहन गर्नुपर्ने बताए । उनले मुलुक र जनताको हितका लागि बीपीले सामना गर्नुपरेका सङ्घर्ष र चनौतीका बारेमा सबैलाई अवगत गराउन नै जेललाई सङ्ग्रहालयमा रुपान्तरण गर्नुपरेको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सचिव भुवन लामा, प्रदेश क सभापति श्रीराम चालिसे, प्रदेश ख सभापति विमल ठकुरी, लगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । यसैगरी, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा, वडा नं. १ का वडा अध्यक्ष राम मानन्धर, नेपाल महिला संघका काठमाडौं सभापति विष्णुदेवी पुडासैनीको उपस्थिती रहेको थियो ।

कांग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।