आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

माओवादी केन्द्रको केन्द्रीय समिति खुला र समावेशी बराबर बनाउने प्रस्ताव

गोकर्णेश्वर खबर१४ पुष २०७८, बुधबार ०९:०१ मा प्रकाशित (२ साल अघि) ४७९ पाठक संख्या

१४ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव आएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मङ्गलबार बसेको स्थायी समिति बैठकमा समावेशीको क्लस्टर मिलाउने विषयमा छलफल भएको छ ।

बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी दिएको छ । पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेलले निर्वाचन आयोगको व्यवस्थाअनुसार पनि समावेशीलाई व्यवस्थापन गर्नुपर्ने भएकाले थप गृहकार्य गर्न लागिएको जानकारी दिए ।

बैठक विधान र समावेशी क्लस्टरका बारेमा छलफल गर्न बसेको र निर्वाचन आयोगको ढाँचालाई आधार मान्नुपर्ने भएकोले क्लस्टरको बारेमा निर्णय भइनसकेको तर ५०/५० प्रतिशत गर्ने कुरा आएको छ । पार्टी स्रोतका अनुसार महिला ३५, दलित १५, युवा २० र मुस्लिमलाई छुट्याइएको पाँच प्रतिशत नघट्ने गरी व्यवस्थापन हुनेछ ।

प्रतिवेदनमाथि मङ्गलबार दिनभर विभिन्न २५ वटा समूहले छलफल गरेका छन् । छलफलबाट आएको निष्कर्षलाई बुधबार १ बजे बन्दसत्रमा समूहगत रूपमै पेस गर्ने कार्यतालिका रहेको छ ।

समूहबाट सुझाव आएपछि अध्यक्ष प्रचण्डले जवाफ दिनुहुने र त्यसपछि प्रस्ताव पारित गरिने बताइएको छ । प्रतिवेदन पारितपछि केन्द्रीय कमिटीका लागि नाम प्रस्ताव गर्ने र ती नामबाट पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ । स्थायी समिति सदस्य राम कार्कीले पूरक प्रस्तावका रूपमा फरक दस्तावेज पेस गरेका छन् ।