आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपाललाई एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार १६:४९ मा प्रकाशित (२ साल अघि) १८६ पाठक संख्या

काठमाडौँ, पुस १३ गते । साविक विजेता नेपालले एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि रक्षा गरेको छ । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मङ्गलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो ।

नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ को जित निकाल्यो । नेपाली महिला टोलीले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको प्रतियोगितामा नेपाल लिग चरणदेखि एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

नेपालले लिग चरणमा लगातार पाँच जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । ६ देश सहभागी प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० र पाँचौँ खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा स्तब्ध बनाएको थियो । उज्वेकिस्तान भने लिग चरणमा दोस्रो बन्दै फाइनलमा पुगेको थियो ।

पुरुषतर्फ नेपालले आजै तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग नै प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ आयोजक बङ्गलादेश, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तानगरी ६ देश सहभागी थिए । पुरुषतर्फ नेपालले लिग चरणमा दुई जित र दुई हार खेपेको थियो ।